अबोधगम्य यथार्थ (कथा)


 -बालकृष्ण अधिकारी

“आमा… मलाई नि है साइ…कल ल्याइदिनु न” केही आशा र केही त्रासको भावमा लालेले आफ्नी आमालाई विन्ति विसायो। दिनभरि तराईको घाममा साहुको मकैबाली थन्कयाउने चटारो परेर हैरान भए पनि साँझको खाना पकाउने बोझलाई मरितरी सम्हाल्दै गरेकी राममायालाई झर्को लागेर आयो। थकानको रिस अबोध बालकमाथि थोपर्न पुगिन्: “तलाईँ फेरि केको भूत चढ्यो? कसले सिकाएर पठायो आज? दिनभरि दुनियाँकाँ भतुवा लाग्छ के के देख्छ, याँ आएर यो चाहियो र त्यो चाहियो भनेर गनगन गर्छ। तेरा बाउआमाको खुट्टामा एक जोरा चप्पल छैन। कति पर्छ साइकललाई थाहा छ तँ गोरुलाई? काँबाट ल्याउँछस् पैसा?”

विचरा लालेको आठ वर्षीय कलिलो दिमागले आमाको आँखामा देखिएको आक्रोस र बोलीमा मिसिएको रिस बाहेक केही बुझेन। डरले सातो उड्यो। विहान त्यही आमाले मेलामा निस्कने बेला दिएको एउटा रोटी बाहेक दिनभरि खेल्ने सुरमा पानी समेत मुखमा नपरेको लालेले अब यहाँ बसिरहे छड्किँदै गरेको भात चलाइरहेको पन्यु आफ्नो टाउकोमा वर्षिने डरले आँखाभरि आँसु पार्दै जुरुक्क उठेर दगुर्न के लागेको थियो दैलोबाट भित्र छिर्दै गरेको बाबुसँग ठोकियो। ठोकिँदा ढुङ्ग्रोमा आधा भरिएको दूध छचल्किएर एक कचौरोजति मात्र बाँकी रहने गरी सबै पोखियो।

अब लालेको हंशले ठाउँ छोड्यो। “के गर्छ यो?” झम्टिनै लागेका थिए तर बाबु थामिए छोरोको आँखामा हेरेर आमातिर प्रश्न तेर्स्याए “यसलाई सम्झाए हुन्न गरिबीले रहरलाई रोक्छ र? ” ढुङ्ग्रो विसाउँदै गर्दा राममायाको उत्तर आयो “साइकल चाहियो रे राजा साहेवलाई” छोरोलाई आफूतिर तान्दै वीरबलले सोध्यो “किन चाहियो तँलाई साइकल?” लालेलाई जमिन हल्लिन छोडेजस्तो लाग्यो। उसको डर फेरि आशामा परिवर्तन हुन थाल्यो कतै बाबुले पो साइकल किनिदिन्छन् कि भन्ने।

“है बडाघरे बाको छोरा कुबेरको कति राम्रो साइकल छ, अस्ति बड्डेमा ल्याइदिनु भा रे। मलाई चलाउन पनि दिदैन। हिजो है मैले छुँदा बडाबाले है “ए पाजी त्यो साइकल नचला।” भन्नुभयो मैले नि “बाबालाई भनेर भोलि नयाँ साइकल किनिल्याउँछु भनेको छु। बा! पाजी भनेको के हो?”

वीरबलले आफ्नै निधारमा हत्केलाले प्याट्ट पिट्दै भन्यो, “हेर छोरा वहाँहरु ठुलो मान्छे हो, हामी साना मान्छे। हामी साइकल किन्न सक्दैनौँ । हामीसँग पैसा छैन। वहाँहरुसँग धेरै पैसा छ।” उत्तर त आयो तर आफ्नो मुख्य प्रश्नको उत्तर नपाएकाले लालेले फेरी सोध्यो, “बा, पाजी भन्या चैँ के?” छोरोलाई वास्तविकताबाट मोड्ने चेष्टाले रामलालले भन्यो, “बाबु तँ सानो छस्, साइकल चलाउँन आउँदैन, लडेर चोट लाग्ला है भनेर सँझाउन तँलाई त्यसो भनेको लाटा। ” राम्रै भनेको रहेछ भन्ठानी बडाबाप्रतिको रिस अलिकति कम भयो लालेको। तर मनमा अनेक प्रश्नमाथि प्रश्न उब्जिएकाले नसोधी रहन सकेन।

” अनि है बा, हामी किन बडाबा जस्तो ठुलो मान्छे नभ’को? तपाईँ पनि ठुलो मान्छे बन्नु न अनि धेरै पैसा हुन्छ। अनि त साइकल आइहाल्छ नि है।” दिनभरि थाकेको ज्यान अनि आफूले दिएको उत्तरभित्रैबाट छोराको जिज्ञासामाथि जिज्ञासा थपिँदा रिस उठ्न थालेको थियो वीरबललाई। एक मनले सोच्यो आमाचैँले ठिकै गरिछ यसलाई थर्काएर। फेरि अर्को मनले सोच्यो मैले यो एउटा भुरोको सामान्य ईच्छा सम्म पुरा गर्न नसक्ने भएर झुट बोल्दैछु। अनि खुईय गर्दै अलि पर्तिरको चकटी तानेर बस्दै भन्यो, “बाबु तँ अहिले सानै छस्। यस्तो कुरा बुझ्दैनस्। जा बरु पढ्न बस्।”

बाबुआमा विहान मेलामा निस्केपछि छोरो गाउँको फिरन्ते बनेको विचराहरुलाई के थाहा। लाले मान्दैन “नाई बा, म बुझ्ने भए नि, हेर्नु त तपाईँ जत्रै छु।” बसिरहेको बाबुको उचाइसँग दाँज्दै भन्यो। दिक्क लागेपछि डराउने हेतुले ” जा भनेको सुन्दैनस्?” लालेको गन्जीमा समाएर हुत्याउँदा पुरानो गन्जी ध्वार्र च्यातियो। घरको सानो झ्यालबाट छिरेको जूनको प्रकाशको डोरोमा एउटै गन्जीमा हप्तौँ काटेको लालेको गन्जी च्यातिदा उडेको धुलो रुमल्लिएको प्रश्टै देखिन्थ्यो। लाले रुन लाग्यो।

अब राममाया वीरबलतर्फ खन्निइन्, “विल तिर्न नसकेर लाइन काटिदिएको तीन महिना भइसक्यो। मम्बत्ती किन्दा किन्दा तिउन खाने पैसा पनि छैन। दशैँ दैलोमा आ’को छ। साउचैलाई पैसा माग्यो, काम लाउने बेला लाउँछ पैसा दिने बेला मकै विकेको छैन बेचेर मात्रै भन्छ। छोरोचैँ साइकल माग्छ। याँ आफ्नो फरिया टाल्दा टाल्दा बोरा जस्तो भइसक्यो। बाउचैँ छोरोको भको एउटा गन्जीपनि च्यातेर… (रुन्चे स्वरमा) मर्न पाए पनि हुन्थ्यो नि बरु?” भातको तातो भाँडो भुइमा राख्न खोज्दा हात पोल्छ। चिसो पानीमा हात चोबल्दै छोरालाई छोरातर्फ हेरेर थर्काउँछिन् “याँ मुन्टि घिच्न।”

लालेको दिमागले माहोल के भइरहेको छ मरिकाट्टे बुझ्न सकेन। उल्टो हातले आँसु पुच्दै लुसुक्क आएर खाना खान बस्छ। पुलुक्क आमापट्टि हेर्छ र देख्छ आमाको आखाभरि टलपल आँसु चुहिनै लागेको । फेरि बाबुपट्टि हेर्छ घुँडासम्म च्यातिएको पाइन्ट लामा दाह्री। बडाबा र बाबुलाई दाँज्छ । अँह वास्तविकता बुझ्दै बुझ्दैन । अनि देख्छ आफूलाई हेरिरहेका भासिएका आँखाभरि आँसु । लालेले नरमाइलो मान्दै एक गाँस सागभात घुक्लुक्क निल्छ। हिक्क हिक्क गर्छ । बाबुले अम्खोराको पानी दिँदै भन्छन्, “नरो बाबु, तँलाई जसरी भएपनि दशैँमा नयाँ लुगा र अर्को साल साइकल किनिदिन्छु।” लाले हुन्छ भन्ने भावमा मुन्टो हल्लाउँछ।

समाप्त