गाउँको माया (सामाजिक कथा, कक्षा ११)


 

कथाकार परिचय

इस्माली (महेश्वरप्रसाद उपाध्याय) बाल साहित्यमा महेश पौडेल; विशेषगरी नेपाली आख्यानसाहित्यमा सुपरिचित नाम हो। महोत्तरीको औरहीमा जन्मिएका इस्मालीले गणित विषयमा स्नातकोत्तर गरेका छन्। वि. सं. २०३१ सालदेखि साहित्य सिर्जनामा लागेका इस्मालीको ‘सेतो आतङ्क’, ‘जिरोमाइल’, र ‘दुधर्ष’ उपन्यास प्रकाशित छन्। उनका ‘माछो माछो भ्यागुतो’, ‘घाम घामजस्तो छैन’, ‘काट जर्किन डि’ लगायतका कथाकृति प्रकाशित छन्। ‘युरेसियाका कथा’ उनीद्वारा अनुदित कथासङ्ग्रह हो। आख्यानमा प्रगतिवादी सोच राख्नु, समाजका सुक्ष्म विषयलाई टिपेर कथा लेख्नु, रानीतिक विकृति, भ्रष्टाचार, प्रशासनिक विसंगति आदि पक्षको उजागर गर्नु उनको मुख्य कृतिगत विशेषता हुन्। उनी ‘पारिजात सृजना पुरस्कार’ र ‘मैनाली कथा पुरस्कार’ बाट पुरस्कृत स्रष्‍टा हुन्।

घटनाक्रम
  • ‘म’ पात्र करिब दुई वर्षपछि आफ्नो गाउँले जीवनका अनेक घटना सम्झदै गाउँतिर फर्कनु
  • परिछनले जयरामजीकी भनी बोलाएको आवाजले ‘म’ पात्र झस्किनु
  • परिछन खोलाछेउको कुवामा पानी लिन जानु र ‘म’ पात्रले खोलाका राम्रा नराम्रा पक्षका बारेका सोच्नु
  • पानी पिएपछि परिनले गाउँका ठालुका कारण गाउँमा तीन पार्टी भएको कुरा सुनाउनु
  • परिछनसँग गाउँका अनेक सुखदुःखका कुराकानी गर्नु
  • तिमी गाउँमै भए ठालुहरूले यसरी सताउन नसक्ने कुरा परिछनले ‘म’ पात्रलाई बताउनु
  • ‘म’ पात्रले तिमीहरूकै कारणले गाउं प्रगतिको पथमा छ भन्दै राम्रो कामको श्रेय परिछनलाई दिएर सम्मान प्रकट गर्नु
  • महावीरजीको झन्डा मेलामा गाउँकै घटनाहरू राखेर परिछनले ‘म’ पात्रलाई नाटक लेख्न अनुरोध गर्नु
  • गाउँ टेक्न नपाउँदै एउटा गहन जिम्मेवारी पाइएको कुरा सोच्दै ‘म’ पात्र घरतिर लाग्नु
पात्र परिचय
कृष्ण

कृष्ण गाउँको माया कथाको मुख्य पात्र हो। ऊ एक मध्यमवर्गीय मधेशमा बस्ने पुरुष पात्र हो। ऊ शान्त स्वभावको छ। उसले अशिक्षाले व्याप्त समाजभित्रबाट एक शिक्षित युवाको भुमिका निर्वाह गरेको छ। परिस्थितिको गम्भीरता बुझेर बोल्ने उसको बानी वा स्वभाव छ। ऊ क्षणिक समयका लागि सहरमा बसोबास गरेर फर्किएको छ, तर गाउँप्रतिको माया अत्यन्त छ। गाउँ जाने क्रममा उसले सारा विगतहरु सम्झन्छ। गाउँको एक बालसखा परिछनलाई भेट्दा गाउँको सुखदुःखको कुरा गर्छ र गाउँलेको मिहिनेत र परिश्रमको प्रसंसा गर्छ। कथाका आधारमा कृष्ण गाउँमा शिक्षाको पहुँच नभएर शिक्षा आर्जन गर्नका लागि शहर पसेको देखिन्छ। परिछनलाई देख्दा उनीहरुको जीवनचक्र र जीवनस्तरको बारेमा धेरै कुरा सोचेपनि साथीलाई चोट पुग्ने शंकाले केही भन्दैन अनि गाउँमा दमन र शोषणको घटना परिछनले सुनाउँदा पनि उत्तेजित नभई भावनामा नबगी श्रमजीविहरुको मनोबल उठाउने भाषाको प्रयोग गर्छ। उसमा गाउँको माया अति रहेको कुरा ‘गाउँमा बस्न नपाउनुको पीडाबोध हलक्क मौलिन्छ छातीभरि’ भन्ने वाक्यबाट प्रश्ट हुन्छ। सरल भाषाको प्रयोग गर्ने कृष्ण स्थानीय भाषा र रितिसंस्कृतिलाई हृदयमा सम्हाल्ने पात्र हो। कथाको अन्त्यमा परिछनले गाउँको समस्या र  विषयवस्तु समेटेर नाटक लेख्न अनुरोध गर्दा उसले नाई नभन्नु ऊ एक कर्तव्यनिष्ठ पात्र हो भन्न सकिन्छ।

परिछन्

परिछन् गाउँको माया कथाको एक प्रमुख पात्र हो। मधेसी मूलको एक अशिक्षित पीडित शोषित तर आफ्नो हकहितको लागि डटेर बोल्ने पात्र हो। उसले समाजमा रहने निम्नवर्गीय किसानको प्रतिनिधित्व गरेको छ। ऊ प्रगतिशील पात्र हो। उसलाई शोषण दमन बाहेक गाउँको प्रकृति संस्कृति लगायत सबै कुराको माया छ। गरिबीका कारण आफनो छोरालाई पढाउन नसकेको परिछनको विचार शिक्षितहरु गाउँमा बसे गाउँको विकास हुन्छ भन्ने छ। बालसखा कृष्णलाई पानी पिलाउनु र भेटमा खुसीले एकैपटक धेरै प्रश्न गर्नु ऊभित्रको पवित्र मित्रता र निश्वार्थ सेवाभाव रहेको थाहा हुन्छ। गाउँमा अगुवाहरुले धोका दिएकोमा चिन्ता व्यक्त गर्दछ। एक पटक असफल भए हरेस नखाई पटक पटक प्रयास गर्नुपर्छ भन्ने सकारात्मक सोच उसमा पाइन्छ। गाउँको विकास र समृद्धिमा चिन्ता बोक्ने परिछन् संस्कृति र रितिरिवाजप्रति सकारात्मक छ। साथी कृष्णलाई गाउँको विषयवस्तु समेटी नाटक लेख्न दिनु गाउँमा चेतना ल्याउने उसको सपना रहेको देखिन्छ। मधेषमा जमिन नहुनेले कति दुःख भोग्नुपर्छ भन्ने उदाहरण परिछनबाट थाहा हुन्छ। मधेषको स्थानीय भाषा र लवजमा रमाउने परिछन् नेपाली ग्रामिण विपन्न वर्गको प्रतिनिधि पात्र हो। ऊ एक क्रान्तिकारी विचार भएको व्यक्ति हो।