'एक चिहान' हृदयचन्द्रसिंह प्रधान


 उपन्यासकार परिचय

हृदयचन्द्रसिंह प्रधानको जन्म वि सं. १९७२ माघ १२ गते भएको हो। नेपाली साहित्यमा उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता विधाका कृतिहरुमा कलम चलाएक प्रधानले औपचारिक शिक्षा प्राप्त गर्ने अवसर नपाए तापनि स्वअध्ययनबाट आफूलाई शिक्षित सर्जक बनाए। उनको 'स्वास्‍नीमान्छे' (२०११) र 'एक चिहान' (२०१७) उपन्यास प्रकाशित छन्। आफ्ना रचनामा खास गरी समाजको सुधार गर्ने प्रगतिशील विचार राख्‍ने प्रधानको 'एक चिहान' उपन्यास पनि एक प्रसिद्ध प्रगतिशील उपन्यास हो। नेपाली समाजको यथार्थ  चित्रण गर्नु र परम्परागत समाजप्रति आलोचनात्मक दृष्‍टि राख्‍नु उनको मुख्य विशेषता हो। नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रधानको मृत्यु वि. सं. २०१६ माघ १० गते भएको थियो।

पात्र परिचय

अष्‍टनारान - बाबु

लतमाया – आमा

शिवनारान - अष्‍टनारानको जेठो छोरो

नानीथँकु – छोरी

पुननारन – माहिलो छोरो

हर्षनारान – कान्छो छोरो

गोदत्त प्रसाद – डाक्टर

रञ्‍जनादेवी - गोदत्तप्रसादकी श्रीमती

सुरमान – साहु

रामबहादुर – कारिन्दा

उपन्यासको सन्दर्भ

‘एक चिहान’ उपन्यास २००७ सालको परिवर्तनपछिको सामाजिक यथार्थवादी धरातलमा आधारित प्रगतिवादोन्मुख औपन्यासिक कृति हो । यो उपन्यास वि.सं. २०११ सालको बाढी पहिरोमा परी काठमाडौँको एक नेवार किसान परिवारको एक चिहान भएको यथार्थ घटनामा आधारित भएर रचना गरिएको हो । प्रस्तुत उपन्यास नेपाली भाषा प्रकाशिनी समिताबाट वि.सं. २०१७ सालमा पहिलो पटक प्रकाशित भएको हो । यसको संक्षिप्तीकरण संस्करण वि.सं. २०६७ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको छ ।

परिवेश

प्रस्तुत उपन्यासले वि.सं. २००७ सालदेखि २०११ सालसम्मको समयको प्रतिनिधित्व गरेको देखिन्छ । २०११ सालको महा बाढी पहिरोको चपेटामा परी अष्ट नारायन ज्यापूको परिवारको एक चिहान भएको घटनाले पुष्टि गर्दछ । त्यस्तै दुई वर्षसम्म खाइनखाइ जम्मा गर्दा २५ रुपियाँ दाम जम्मा भएको र त्यसले काजकिरिया गर्नू भन्ने अभिव्यक्ति अष्टनारायणले दिएको, शिव नारायणले १० रुपियाँमा भाइको बिहे र माहिला तामाङ्ले १५ रुपियाँ सापटी लिएर छोरी  पुतलीको बिहे सम्पन्न गरेको कुराबाट पनि यसको समयगत परिवेश निकै पुरानो रहेको देखिन्छ । उपन्यासको घटना क्रमलाई हेर्दा करिब ४/५ महिनालाई यसले समेटेको देखिन्छ । उपन्यासको स्थानगत परिवेश सहर र गाउँको मिश्रणमा आधारित छ । यसमा भएका धेरैजसो पात्रहरू काठमाडौँमा बसोवास गर्ने नेवारी समुदायका हुन् । उनीहरूको जीवनशैली निम्नवर्गीय परिवारको रहेको छ । उपन्यासको मूल कथा अष्ट नारानको परिवार र उसको जेठो छोरो शिव नारानमा केन्द्रित छ । उनीहरूको घर सहरभित्र र खेतीचाहिँ ग्रामीण इलाकामा रहेको पाइन्छ । शिव नारान बसेको गाउँ र सहरको रहनसहन खर्चिलो रहेको हुनाले गरिब शिव नारान यसको नराम्रो प्रभावबाट प्रभावित भएको छ । तत्कालीन समयको जातीय साम्प्रदायिकता, धनी सम्पन्न र शिक्षित भनाउँदाहरूको शोषणमा गरिब विपन्न र शिक्षित वर्गले दयनीय जीवन बिताएको सामाजिक परिवेशको चित्रण यहाँ गरिएको छ । एकातिर समाज पछौटेपनले गुज्रिएको छ भने अर्कोतिर परिवर्तनको सङ्घारतिर पाइला चालेको सङ्क्रमणकालीन परिवेशको सजीव चित्रण यसमा गरिएको छ । समाजको वर्गीय स्वरूपलाई देखाई शोषक र शोषित समुदायलाई उपन्यासले आफ्नो परिवेशको रूपमा समेटेको छ ।

भाषाशैली

प्रस्तुत उपन्यासको भाषा सरल प्रकृतिको छ । यसमा अपठित किसान पात्रहरू रहेका छन् तर तिनको अभिव्यक्ति भने शिक्षितको जस्तो र दार्शनिक प्रकृतिको देखिन्छ । उपन्यासमा संवादहरू केही लामा प्रकृतिका पनि देखिन्छन् । प्रस्तुतीकरण भने सहज र रेखीय रूपमा अघि बढेको छ । उपन्यासको बिच–बिचमा केही नेवारी शब्दहरूले पनि प्रवेश पाएका छन् । उपन्यासका पात्र र यसको विषय वस्तु अनुरूप हेर्दा यसको भाषा प्रयोगमा केही कमीकमजोरी भने विद्यमान रहेको देखिन्छ ।

कथासार

एक चिहान उपन्यास अष्टनारान नाम गरेका एक किसान सिकिस्त बिरामी परेको अवस्थाबाट सुरु हुन्छ । परिवारका अन्य सदस्य चिन्तित छन् तर बुढा अष्टनारान आफू बाँच्ने आशा निकै कम भएकाले आफ्ना लागि औषधि मूलोमा व्यर्थ खर्च नगर्नु, म मरेपछि पनि कुनै काजक्रिया नगर्नू, त्यसले व्यर्थ खर्च बढाउँछ, यसले परिवारमा झन् आर्थिक समस्या निम्त्याउँछ भन्ने अर्ती दिन्छन् । लास बोक्दा लाग्ने कात्रो किन्ने पैसा पनि नहोला भनी २५ रूपैयाँ जमिनमुनि गाडेर राखेको कुरा पनि अष्टनारान परिवारलाई सुनाउँछन् । अष्टनारानको त्यस्तो विचार हुँदाहुँदै पनि परिवारले ऋण लिएर सुरुमा स्थानीय गुभाजुकहाँ झारफुक गर्न लगाउँछ तर रोग निको हुँदैन । त्यसपछि अर्का नाम चलेका डाक्टर गोदत्त प्रसादकहाँ जचाउन लाने निर्णय परिवारले गर्छ र छोरो शिवनारान गोदत्त प्रसादकहाँ पुग्छ तर पैसाका पछि कुद्ने डाक्टर गोदत्त प्रसादले खासै वास्ता गर्दैन । तर अर्का भाइ पुननारान गएर फी घरमा पुग्ने बित्तिकै दिने वाचा गरेपछि डा.गोदत्त प्रसाद अष्टनारानकहाँ आउन मन्जुर भई उसले अष्टनारानको घरमा पुगेर उनको जाँच गर्ने क्रममा ऊ अष्टनारानकी तरुनी छोरी देखेर निकै मोहित हुन्छ । अफिसबाट घर नगई सोझै अष्टनारानको घरमा पुग्छ र बिरामी जाँचेको शुल्क पनि अहिले नभए पछि दिँदा पनि हुन्छ भन्ने भावना व्यक्त गर्छ । यसरी लगातार घरमै आएर डाक्टरले उपचार गरेकोमा अष्टनारानले छोराछोरीलाई धेरै ऋण लाग्ने भो भन्ने धारणा राख्दा छोरा शिवनारानले डाक्टरले निःशुल्क उपचार गरिदिने निर्णय गरेको कुरा सुनाउँछन् । त्यसै समय अष्टनारानले त्यो लोभी डाक्टरको नियतमा शङ्का गर्छन् । बाजेबराजुको पालाको जग्गाजमिन पनि यसै गरी ऋण लागेर सकिएको कुरा सुनाउँदै अष्टनारानले समयमै होसियार हुनु पर्छ भन्ने धारणा परिवारसामु राख्छन् । यसै समयमा अष्टनारानले किसानको पहिलो कर्तव्य भनेको खेतीकिसानी रहेकाले आफूलाई कुर्न लतमाया (अष्टनारानकी श्रीमती) एकजना भए पुग्ने सल्लाह दिन्छन् । परिवारका सबै सदस्य उनको गम्भीर स्वास्थका विषयमा चिन्ता मान्छन् तर अष्टनारान आफूलाई कुनै कसिमको काजक्रिया दानदक्षिणामा विश्वास नभएकाले आफ्नो पेसामा लगनशील भएर लाग्न परिवारका सबै सदस्यहरूलाई सल्लाह दिन्छन् । यस्ता गन्थन गर्दागर्दै निकै थलिएका अष्टनारानको निधन हुन्छ अनि परिवारमा रुवावासी मच्चिन्छ ।

निकै मिलनसार र समाजसेवी भावनाका कारण अष्टनारानको मृत्युमा गाउँटोलवासीमा  समेत रुवावासी सुरु हुन्छ । आर्थिक अवस्था निकै नाजुक भएकाले अष्टनारानको अन्त्येष्टि (दाहसंस्कार) का लागि कात्रो किन्ने पैसा समेत हुँदैन । घरमा लास छोडेर छोरा पुननारान र छोरी नानीथकुं डा. गोदत्तप्रसाकहाँ पैसा माग्न पुग्छन् । नानीथकुंको यौवनमा मख्ख परेको गोदत्त प्रसादले कुनै आनाकानीविना २५ रूपैयाँ दिँदै परेमा अरू सहयोग गर्न तयार भएको कुरा जनाउँछ । किशोरी नानीथकुंप्रति मोहित भएको गोदत्त प्रसाद पैसाकै बलमा उसको जवानी लुट्ने योजनामा लागि पर्छ । सोझी र सरल स्वभावकी नानीथकुं पनि गोदत्त प्रसादको जाली प्रेमजालमा फस्न पुग्छे । यसैगरी अर्को व्यक्ति तल्सिङ सुरमान सुब्बा पनि नानीथकुंको पछि लागेको हुन्छ । उसले आफ्नो दलाल रामबहादुर  मार्फत विदेशी तान किनिदिएर नानीथकुंकाई आफ्नो पकडमा पार्ने प्रयास जारी राख्छ । उसले एक वर्षका लागि कुत पनि माफी गरिदिने लोभ देखाएर नानीथकुंलाई जसरी पनि आफ्नो पकडमा आकर्षित गर्ने प्रयास गर्छ । आमा लतमायाले सुरमान सुब्बासँग नानीथकुंको विवाह स्वीकार भए पनि दाजु शिवनारानको खबरदारीका कारण सुब्बाको षड्यन्त्र विफल हुन्छ ।

यता डा. गोदत्त प्रसाद र नानीथकुंको प्रेमसम्बन्धको हल्लाले गाउँटोल पूरै छोप्छ । गोदत्त प्रसादकी श्रीमती रञ्जनादेवीले नानीथकुँलाई नारीको महिमा र अस्तित्वबारे सचेत पार्छिन् । शिवनारानले तराईवासी रामखेलावन राउतसँग उसको बिहे गरि दिन्छन् । हर्षनारानको बिहे तामाङनी केटी पुतलीसँग हुन्छ । उनीहरु अन्तर्जातीय विवाहको पक्षमा हुन्छन् । त्यस्तै विवाहमा पनि जातीय एकताका लागि सहयोगी हुन वस्तुहरु उपहारका रुपमा प्रदान गर्छन् ।  त्यसपछि शिवनारानको परिवार खेती किसानीमा व्यस्त रहन्छन् । शिवनारान र उसकी श्रीमती खेतमै गोठ बनाएर बस्न थाल्छन् भने अन्य परिवार गाउँको घरमै बस्न थाल्छन् । २०११ सालमा तीन दिन तीन रात सम्मको भीषण वर्षाका कारण शिवनारानको परिवारलाई बाढीले बगाउँछ भने पुरानो घर पनि भत्केर बाँकी परिवारको पनि एक चिहान हुन्छ र उपन्यासको अन्त्य हुन्छ ।

चरित्रचित्रण

अष्‍टनारानः 

 अष्ट नारान ज्यापू शिव नारान, पुन नारान, हर्ष नारान र नानीथकुँका बुबा र लतमायाका ६५ बर्षे श्रीमान् हो । उसको आर्थिक अवस्था अत्यन्त कमजोर छ । ऊ प्रगतिवादी सोचाइ राख्ने पात्र हो । उपन्यासको सुरुदेखि अन्त्यसम्म  उसको सोचाइमा परिवर्तन नआएकाले ऊ गतिहीन पात्र हो । उसले तत्कालीन समाजमा व्याप्त कुसंस्कार, कुरीति, अन्ध विश्वास, अनावश्यक तडकभडकको विरोध गरेको छ । उसले ऋण लिएर भोज भतेर गर्ने, मर्दापर्दा आफन्तहरू रुँदै बिचा आउने प्रथाको अन्त्य गर्न चाहने पात्र हो । भिन्न जाति र संस्कृतिका मान्छेहरू बिचको वैवाहिक सम्बन्धले नेपाली एकता अझ बलियो हुन्छ भन्ने धारणा भएको अष्ट नारायण प्रगतिवादी विचार भएको व्यक्ति हो । परिश्रमको पूजा गर्ने अष्ट नारान उपन्यासको अनुकूल पात्र हो । त्यस्तै आफ्नै दाह संस्कारकै लागि पैसा जोगाइ राख्ने, सन्तान ऋणको खाडलमा नपरुन् भनी उपचार समेत नगर्ने र गोदत्त प्रसादको नियतिलाई अगाडि नै चिन्ने अष्ट नारान दूरदर्शी पात्र हो । धर्तीमाताको सेवा गर्नु किसानको परम कर्तव्य सम्झने ऊ कर्तव्यशील पात्र हो । जातीय एवंम् सांस्कृतिक समिश्रण चाहने प्रगतिवादी, विद्रोही एवम् क्रान्तिकारी प्रवृत्ति भएको अष्ट नारान उपन्यासकारको मुख पात्र पनि हो । समग्रमा हेर्दा अष्ट नारान पुरुष, मञ्चीय, स्थिर, बद्ध, वर्गगत, सत र मुख्य पात्र हो भन्न सकिन्छ ।

शिवनारान ः

 शिव नारान अष्ट नारान र लतमायाको जेठो छोरो हो । उपन्यासमा उसको भूमिका प्रमुख पात्रका रूपमा रहेको छ । उसले बाबुको मृत्युपछि आफूमा आएको अभिभावकत्व पूरा गर्न सफल देखिन्छ । शिव नारान सामाजिक सुधारको वाहक अनि प्रगतिशील विचारको प्रतिमूर्तिका रूपमा उपस्थित भएको छ । कसैले अन्याय अत्याचार गरेको सहन नसक्ने शिव नारान सचेत र किसान वर्गको प्रतिनिधित्व गर्ने वर्गगत पात्र हो । बाबुआमाका अगाडि सम्पत्ति केही होइन भन्ने शिव नारान पितृभक्त छ । समय र मानिसको व्यवहारअनुसार आफ्नो दृष्टिकोण बदल्न सक्ने शिव नारायणको चरित्रमा केही मात्रामा गतिशीलता पाउन सकिन्छ । उपन्यासको अन्त्यतिर गोदत्त प्रसाद र सुरमान सुब्बाको अत्याचार सहन नसकी तिनीहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएको छ । पैसाको बलमा बहिनीको जवानीसँग खेलबाड गर्न खोज्ने गोदत्त प्रसाद र सुरमान सुब्बाको शोषणको घोर विरोध गर्ने शिव नारान दृढ साहसी एवम् निडर व्यक्तित्वका रूपमा देखिन्छ । स्वस्थ र अमर प्रेमको समर्थन अनि वासनात्मक र क्षणिक प्रेमको विरोध गर्ने ऊ आफ्नै पिता झै प्रगतिवादी देखिन्छ । ऊ अन्तर्जातीय विवाहबाट साम्प्रदायिक भेदभावको अन्त्य भई बन्धुत्व एवम् भातृत्वको भावना जागृत हुने आशा राख्दछ । शिव नारान इमान्दार, आज्ञा पालक, परिश्रमी, स्वाभिमानी, सङ्घर्षशील, विद्रोही चेतना भएको सत पात्र हो ।

नानीथकुँः 

नानीथकुँ अष्‍टनारान र लतमायाकी छोरी र शिव नारानकी बहिनी एवम् प्रमुख नारी पात्र हो । सत्र वर्षकी अनि नव यौवनले भरिएकी सोझी एवम् अबोध पात्र हो । उसको गोरो र हिस्सी परेको सुन्दर अनुहार, बैँसको पुष्टता र फक्रिएको यौवनबाट डा. गोदत्त प्रसाद मात्र नभई ५८ वर्से सुरमान सुब्बा पनि लोभिएको छ । उपन्यासमा उसले अशिक्षित, असचेत, अल्लारे र निम्न वर्गीय चेलीहरूको प्रतिनिधित्व गरेकी छ । सरल एवम् निश्छल स्वभावकी यस युवतीको आँखा खोल्ने काम रञ्जना देवीले गरेकी छन् । यसले गर्दा उसमा जीवनको वास्तविकताको बोध भएको छ । डाक्टरको वासनात्मक प्रेम र सुब्बाको अनमेल विवाहलाई अस्वीकार गरी सचेत र सत् चरित्रका रूपमा बदलिएकी हुनाले ऊ गतिशील पात्र हो । अस्वाभाविक सम्बन्धलाई अस्वीकार गरी अन्तर जातीय विवाहलाई अवलम्बन गर्ने पात्र हो । समाजका दुष्ट एवम् स्वार्थी पुरुषका कामुक आँखाबाट डामिएकी यस चेलीले समग्र गरिब युवतीहरूको प्रतिनिधित्व गरेकी छे ।

गोदत्त प्रसादः 

डाक्टरी पेसामा संलग्न गोदत्त प्रसाद विरामीको सेवा गर्ने जिम्मेवारी भए पनि फिस कवोल नगराई बिरामी नजाँच्ने र धरपकड गरेर पनि फिस असुली छाड्ने पैसामुखी चरित्रको पात्र हो । टोलमा नाम चलेको डा. गोदत्त प्रसाद यस उपन्यासको खल पात्र हो । तिनवटा छोराछोरीका बाबु र रञ्जना देवी जस्ती सभ्य शिक्षित र सुशील श्रीमतीको पति भएर पनि राम्री तरुनी देखेपछि हुरुक्क हुने गोदत्त कामुक एवम् पशुवत् व्यवहार भएको व्यक्ति हो । नारी जातिलाई केवल भोग विलास र मनोरञ्जनको माध्यम ठान्ने गोदत्त प्रसाद सामाजिक विकृति ल्याउने व्यक्ति हो । यसबाट गोदत्त प्रसाद सामाजिक अनुसासन, मर्यादा, नैतिकता समेतको डर नभएको जङ्गली साबित हुन्छ । शिव नारानले आफ्ना बाबुको उपचारका लागि अनुरोध गर्दा सुरुमा जान नमाने पनि नानीथकुँको यौवनबाट प्रभावित भई ऊसँग प्रेमको नाटक रचेर उसको शरीरसँग खेल्ने लोभमा निःशुल्क उपचार गरि दिने गोदत्त प्रसाद चरित्रहीन र पतीत व्यक्ति हो । बाहिरी देखावटमा सभ्य देखिए तापनि भित्री रूपमा उसको चरित्र विवेकहीन छ । समाजमा सेवा भावभन्दा पैसालाई महइभ्व दिने, गरिब र दुःखी बिरामीप्रति बेवास्ता गर्ने, रूप र जवानीको लालचमा अवला सोझा नारीको नारीत्व र कुमारीत्व लुट्ने समाजको सुकुल गुन्डाहरूको प्रतिनिधि पात्र हो ।

रञ्‍जना देवी ः

 रञ्‍जना देवी उपन्यासको अन्तिम खण्डतिर देखिएर उल्लेखनीय काम गर्ने सहायक पात्र हो । डाक्टरकी श्रीमतीका रूपमा देखिएकी ऊ शिक्षित, बुझक्कड, निडर र चतुर नारी पात्र हो । रञ्जना देवी नारी अस्तित्व, स्वाभिमान, नारी आदर्श र नारी अस्मिता बोध भएकी पात्र हो । नारीको सामाजिक नैतिक दायित्व सम्बन्धी आफ्ना धारणाहरू रञ्जना देवी मार्फत उपन्यासकारले व्यक्त गरेको पाइन्छ । उपन्यास भित्रको नारीप्रतिको दृष्टिकोण अभिव्यक्त गर्ने रञ्जना देवीलाई यस उपन्यासकी मुखपात्र मान्न सकिन्छ । ऊ पथभ्रष्ट भएको आफ्नो पतिलाई सही बाटोमा ल्याउन र नानीथकुँ जस्ती अपरिपक्व नारीलाई नारी अस्मिता, नारी अस्तित्व र जीवन बोध गराई सचेत बनाउन सफल भएकी छ । लाग्नेको चारित्रिक कमजोरीबाट सिर्जित समस्यालाई समाधान गरेर आफ्नो दाम्पत्य जीवन सुखी बनाउने रञ्जना देवी सचेत पात्र हो । निडर स्वभाव र अन्यायका विरुद्ध प्रतिकार गर्न सक्ने भएकाले रञ्जना देवी निर्भिक चरित्र पनि हो । ऊ तर्कद्वारा अरूलाई आफ्नो प्रभावमा पार्न सक्ने पात्र हो । ऊ स्थिर एवम् सत् चरित्रका रूपमा उपन्यासमा उपस्थित भएकी छ ।

सुब्बा सुरमान ः

सुरमान सुब्बा उपन्यासको सामन्ती चरित्र भएको व्यक्ति हो । ऊ सन्ताउन्न वर्षको बुढो छ । उसमा धन सम्पत्तिको मात लागेको देखिन्छ । सुरमान गरिबहरूसँग चर्को व्याज असुल्ने अनि उनीहरूको गरिबीको फाइदा उठाउने पात्र हो । उसले धनदौलत र सुख सुविधा प्रदान गरि दिने प्रलोभन बाँडी नानीथकुँ आफ्नो हात पार्न चाहन्छ । यस कार्यमा उसले आफ्नो कारिन्दा राम बहादुरलाई प्रयोग गरेको छ । शिव नारानका दृष्टिमा सुरमान एक द्रव्य पिशाच हो । उसमा लोक र परलोकको समेत आस्था देखिँदैन । मरिसकेको अष्ट नारानले वचन दिइसकेको भन्दै राम बहादुरले नानीथकुँ सुरमानलाई दिन आग्रह गरेको प्रसङ्गबाट यस कुराको रहस्य खुलेको छ । उसले अघिल्लो साल शिव नारायणको खेती बिग्रेर बाली तिर्न नसक्दा आफ्ना छोराहरूलाई पठाएर सयकडा पच्चिस बढाई तमसुक लेखाएको छ भने अहिले नानीथकुँको यौवनसँग खेल्ने आशामा तान समेत मुफतमा पठाउने र बाली समेत मिनाहा गरी दिन खोजेको छ । यो कुरा नानीथकुँ पाउने आशा मरेपछि सबै ऋण तुरुन्त तिर्न राम बहादुरले भनेको कुराबाट बुझिन्छ ।

उद्देश्य / मूलभाव

हृदय चन्द्र सिंह प्रधानद्वारा रचित ‘एक चिहान’ उपन्यासको अन्तर्वस्तुले नेपाली समाज विकासका बाधक तत्त्वहरूको राम्ररी छानबिन गरेको छ ती तत्त्वलाई हटाई अग्रगामी यात्रामा अघि बढ्नु पर्ने मार्ग निर्देश पनि गरेको छ । यसले वर्षौँदेखि नेपाली समाजमा जरा गाडी बसेका संस्कारगत अन्धता र धार्मिक रूढिहरूलाई छोड्दै क्रमशः सामाजिक परिवर्तनको प्रगतिशील र प्रगतिवादी मार्ग अवलम्बन गर्नु पर्ने मान्यता प्रस्तुत गरेको छ । यस्तो परिवर्तनलाई नेपाली समाजको सापेक्षता अनुकूल नै अघि बढाउनु पर्ने विचार पनि यसले प्रस्तुत गरेको छ । यस उपन्यासले प्रेमका नाममा हुने वासनात्मक सुखभोगको लिप्सालाई पुरै अस्वीकार र विरोध गर्नुका साथै अनमेल विवाह, बहु विवाह जस्ता कुप्रथाको टड्कारो विरोध गरेको छ । यसले नारीमाथि विभेद पूर्ण व्यवहार गर्ने, वासनात्मक एवं कामुक दृष्टि लगाउने सामन्ती एवं पुरुषवादी कुदृष्टिको पनि घृणापूर्वक विरोध गरेको छ । सम्पन वर्गका सामन्त एवं भ्रष्ट कर्मचारीबाट श्रमजीवी गरिब वर्गमाथि गरिने शोषणजन्य व्यवहारको सशक्त एवं बलपूर्वक प्रतिरोध पनि गर्नु पर्ने मान्यता यसले प्रस्तुत गरेको छ । समाज विकासको प्रक्रियामा श्रमको आधारभूत महत्त्व रहेको कुरातिर सङ्केत गर्दै प्रस्तुत उपन्यासले किसान, मजदुर आदि निम्न वर्गका श्रमिकले आफ्नो श्रमिक कर्मलाई कहिल्यै छोड्न नहुने मान्यता पनि प्रकट गरेको छ ।

समग्रमा ‘एक चिहान’ उपन्यासले समाजमा जरा गाडी बसेका संस्कारगत अन्धताका विविध पक्षलाई छोड्दै प्रेम र विवाहका बारेमा पनि परिवर्तनमुखी विचार प्रस्तुत गरेको छ । यसले लैङ्गिक विभेदका विरुद्ध नारीभित्रै सचेतताको आवश्यकता औँल्याउनुका साथै शोषणको विरोध तथा श्रमको सम्मानका लागि पनि वर्गीय मुक्तिको आन्दोलनलाई सशक्त रूपले अघि बढाउनु पर्ने प्रगतिवादी मान्यता प्रस्तुत गरेको छ । अन्त्यमा प्राकृतिक विपत्तिबाट परिवारको एकै चिहान भएको प्रसङ्गले मानवीय नियतिको गलत सन्देश जान सक्ने कुरा र उपन्यासभित्रका कतिपय घटनाको कार्य कारणजन्य कलात्मक तालमेलको अभाव खड्किए पनि मूलतः प्रस्तुत उपन्यासले समाजको अग्रगामी परिवर्तनको प्रगतिवादी अन्तर्वस्तुलाई सशक्ततापूर्वक प्रस्तुत गरेको पाइन्छ ।

समग्रमा; स्वाभिमान बेच्न नचाहने कृषकहरूको सोझोपनको फाइदा उठाउन खोज्ने शोषक, सामन्ती र यौन पिशाचहरूप्रति विद्रोहको स्वर सुसेलिएको यस उपन्यासमा उपन्यासकारको प्रगतिवादी स्वर मुखरित भएको पाइन्छ ।