विरहिणी दमयन्ती कथासार


 निषध राज्यका राजा नलले रानी दमयन्तीलाई मध्य रातमा परित्याग गरी हिँडेपछि विरहिणी बनेकी दमयन्ती बौलाहीझैँ नललाई खोज्दै वियोग, बिलौना गर्दै भोक, शोक र थकानले ग्रसित भएर पीपलको रुखमुनि निदाउँछिन्। ब्यँझँदा बलिष्ठ नागपुरुष कर्कोटकले सुम्सुम्याएको पाउँदा भाग्छिन् तर कर्कोटकले उनलाई कब्जामा लिन्छ। कर्कोटकको कमेच्छा बुझेकी दमयन्तीले जुक्ति लगाएर आफूलाई सुरक्षित राख्दै  त्यहाँबाट भागेर शिंशपाको रुखमा रात गुजार्छिन्। 

तीन दिनसम्म भाव विह्वल हुँदै कन्दमूल खाँदै हिँडेकी दमयन्तीले निषाद र नागको वस्ती देखेपछि तर्सिएर रक्षार्थ आफू‌लाई बौलाहीझैँ कुरुप पार्छिन्। सूर्यास्तमा खेतका हरिया मुना र जौका झारले भोक शान्त पारी ढुङ्गामाथि रात गुजार्छिन्। सपनामा ऋषिहरुको छाप्रामा गई भोजन गरेको र उत्तरतिर नल भेटिने सन्देश पाएपछि ब्युँझिएपछि उत्तरतिरै लाग्छिन्।

एउटा व्यापारिक दल र त्यसका नाइके शुचिभद्रसँग भेट हुँदा उनले आफ्ना पति नलकै बारेमा सोधिखोजी गर्छिन्। शुचिभद्रले नलको बारेमा थाहा नभएको बताए पनि चेदी जनपदमा भेटिन सकिने कुरा सुनाएर दमयन्तीलाई कपडा फेर्न दिएको कालो धोती र पछ्यौरी दिन्छ। दमयस्तीले त्यो स्वीकार गर्छिन्। रातमा पद्मसौबन्धिक सरोबर वरिपरि सुतेका शुचिभद्र लगायत प्रायः सबैको हात्तीको डफ्फाले ज्यान लिएपछि दमयन्तीले पाएको कपडा अशुभ ठानी त्यसलाई फालेर एक मृत महिलाको मपडा बेरी चेदीतिर लाग्छिन्। 

बाटामा भेटिएका कोहीसँग नबोली चेदी पुग्दा आफ्नी ठुलीआमा सुनन्दालाई चेदीराज सुबाहुले अपहरण गरी पत्नी बनाएको सम्झन्छिन्। आफूलाई उनीहरुले चिने नराम्रो हुने ठानी आफूलाई पुनः कुरुप पार्छिन्। बौलाहीझैँ बाटोमा हिडिरहेको बेला सुनन्दाले देखेर बोलाउँछिन् र परिचय सोध्छिन्। दमयन्तीले आफ्नो असली परिचय लुकाएर आफू एक संभ्रान्त सेठकी पत्नीकी सिँगारपटार गर्ने सुसारे रहेको बताउँछिन्। सुनन्दाले आफ्नी छोरीकी सिँगारपटार गर्ने सैरन्ध्रीको काम गर्न आग्रह गर्दा दमयन्तीले कसैको जुठो नखाने, पाउ नदाप्ने र कुनै परपुरुषसँग नबोल्ने आफ्नो सर्त राख्छिन्। सुनन्दाले दमयन्तीका सर्त स्वीकार गरेपछि उनी सैरन्ध्रीको रुपमा त्यस दरबारमा रही जसरी भए पनि निषधराज नललाई फेला पार्ने उपाय सन्तोषका साथ विचार गर्न थालिन्।