आमाको सपना गोपालप्रसाद रिमाल


 गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका हुन् । प्रकृति प्रेम, विकृति र विसंगतिलाई कविताको विषय बनाउने क्रान्तिकारी कवि रिमालका कवितामा जातीय स्वाभिमान, व्यङ्ग्य र देशभक्तिको भावलाई कवितामा व्यक्त गरिएको पाइन्छ । छन्दमा कविता लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेख्ने उनी पहिलो नेपाली गद्यकवि हुन्। थोरै लेखेर धेरै जस कमाउनेमा कवि रिमालका कवितामा नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार आदिका विरुद्धमा क्रान्तिकारी आवाज उठाइएको छ । उनले ‘आमाको सपना’ कृतिका लागि मदन पुरस्कार २०२० र ‘त्रिभुवन पुरस्कार वि.सं. २०३०’ प्राप्त गरेका थिए।

वि. सं. २००० तिर लेखिएको गोपालप्रसाद रिमालको आमाको सपना कवितामा कविले आमा र छोराबीचको संवादमार्फत नेपाली समाज निरंकुश शासकको अन्याय, अत्याचार, विकृति, विसंगतिरुपि फोहोरबाट दुर्गन्धितन बनेको छ र यसलाई स्वस्थ तुल्याउन क्रान्ति गर्न आवश्यक रहेको व्यक्त गरेका छन् । सामाजिक परिवर्तनका लागि क्रान्ति आवश्यक भएको सन्देश दिने यस कवितामा आमा र छोराबीचको संवादमा क्रान्तिकारी परिवर्तन आउने र क्रान्तिका पछाडि सबै जनताहरु लाग्ने विचारलाई आशावादी चिन्तनमा ढालेर व्यक्त गरिएको छ ।

नेपाल आमाले परिवर्तनको आशा गरेकी छन् तर शोषण, अन्याय, अत्याचार, विकृति र विसंगतिलाई तोड्न वर्तमान सन्ततिहरुबाट सम्भव नभई भावी पुस्ताबाट मात्र सम्भव हुने कुरालाई यस कवितामा उठाइएको छ । नेपाल आमा, आफूले जन्म दिएको हरेक सन्तानलाई वीर योद्धाका रुपमा हेर्न चाहन्छिन् तर त्यस किसिमको परिवर्तन र मुक्ति ल्याउन नेपाली आमाले जन्माउने भावी क्रान्तिकारी सन्तान जो हिउँ र आगो भन्दा बढ्ता हुन्छ उसले बिहानको सूर्य जस्तै उज्यालोरुपि क्रान्ति छर्दै आउँछ भन्ने भाव व्यक्त गरिएको छ । नेपाल आमाले प्रश्नकर्ता शिशुकै कलिलो मुहारमा क्रान्तिको छाप देख्न चाहन्छिन् र बालकको तोते बोलीमा क्रान्ति पुरुषकै मधुर वाणी सुन्न चाहन्छिन् । यस कवितामा नेपाल आमाले आफ्नै सन्तानलाई वीरयोद्धा बनाएर क्रान्तिकारी गीत घन्काउन चाहेको भाव पनि व्यक्त भएको देखिन्छ । क्रान्तिको अवतरण भएपछि त्यसको शक्ति सर्वव्यापी र सर्वग्राह्य हुनेछ । परिवर्तनको सत्यमाथि हुने अन्याय, अत्याचार विरुद्ध सबै जनताहरु लागि पर्ने छन् ।

यसरी कविले नेपाल आमाका तर्फबाट आफूभित्र रहेको क्रान्तिकारी भावलाई व्यक्त गरेका छन् । कवितामा नेपाल आमालाई एउटा यस्तो क्रान्तिपुरुष चाहिएको छ जसले समाजमा प्रजातन्त्र, नेपाली जनतामा स्वतन्त्रता र नेपाल आमालाई स्वस्थ तुल्याउन सकोस् भन्ने आह्वान व्यक्त छ। यस कविताद्वारा कविले हाम्रो समाज युगीन राजनैतिक दुर्गन्धको जालोबाट मुक्त गराउन क्रान्ति गर्नुपर्ने सन्देश व्यक्त गरेका छन् । समाजमा विद्यमान अन्याय, अत्याचार, दमन, शोषणका विरुद्ध सबैलाई क्रान्तिमा होमिन आह्वान गर्ने उद्देश्यले रचना गरिएको यस कवितामा क्रान्तिरुपी हुरी आएर विकृति, विसंगति, अन्याय, अत्याचार र निरंकुशतारुपी फोहोरलाई उडाएर समतामूलक समाजको स्थापना हुन्छ भन्ने आशावादी भाव विस्तार भएको छ।

सरल, सहज एवम् प्रश्नोत्तरात्मक भाषा शैलीको प्रयोग गरिएको यस कविता न्यूनतम चार तथा अधिकतम तेइस अक्षर र अठ्चालीस हरफहरुमा रचित छ । सूर्य, हतियार, बाँसुरी, हुरी, जुनजस्ता सन्दर्भयुक्त बिम्बहरुको प्रयोग गरिएको छ । अन्याय गर्नभन्दा अन्याय सहने दोषी हो भन्ने भनाइलाई यथार्थरुपमा प्रस्तुत गर्दै कविले देशलाई शान्त स्वतन्त्र समृद्ध र स्वच्छ राख्न र नयाँ युगको सुरुवात गर्न प्रत्येक पिँढीले आ–आफ्नो अवस्था अनुसार आन्दोलन गर्नुपर्छ भन्ने क्रान्तिकारी भाव कविले यस कवितामा व्यक्त गरेका छन् ।