लिङ्ग


 तलका वाक्यहरुबीच तुलना गरौँ र फरक छुट्याऔँ-

मेरो भाइ धेरै सानो छ।

म आफ्नो बाबुसँग बस्छु।

गायकले गीत गाए।

राजासाहेब आउनुहुनेछ।

थारु दाइ रमाइला छन्।
मेरी बहिनी धेरै सानी छे।

म आफ्नी आमासँग बस्छु।

गायिकाले गीत गाइन्।

रानीसाहेब आउनुहुनेछ।

थरुनी भाउजू रमाइली छिन्।

परिचय

भाले वा पोथी छुट्याउने चिह्नलाई लिङ्ग भनिन्छ। नेपाली व्याकरणमा लिङ्ग दुई प्रकारका छन्ः

  • पुलिङ्ग
  • स्त्रीलिङ्ग
पुलिङ्गस्त्रीलिङ्ग
भाले नाम वा पुरुष जातिलाई बुझाउने शब्द,

केटो, ज्वाइँ, मामा, फुपाजु, भाइ, बेहुलो……..
पोथी नाम वा स्त्री जातिलाई बुजाउने शब्द,

केटी, बुहारी, माइजू, फुपू, बहिनी, बेहुली…

लिङ्ग परिवर्तनः

पुलिङ्गलाई स्त्रीलिङ्ग र स्त्रीलिङ्गलाई पुलिङ्गमा परिवर्तन गर्नुलाई लिङ्ग परिवर्तन भनिन्छ।

लिङ्ग परिवर्तन प्रक्रिया-

१. प्रत्यय प्रक्रिया

अ. पुलिङ्ग शब्दको अन्त्यमा ‘ई’ प्रत्यय लगाएर स्त्रीलिङ्ग बनाउन सकिने,

छोरो – छोरी

मोटो – मोटी

कुमार – कुमारी

बाहुन – बाहुनी

काका – काकी

खायो – खाई

तरुनो – तरुनी

प्रायः पुलिङ्गी शब्दको अन्त्यमा ‘ओकार’ भए ‘ईकार’ बनाई स्त्रिलिङ्गी शब्द बनाउन सकिन्छ।

  • केटो (ट् मा ओकार) – केटी (ट् मा ईकार)
  • गोरो (र् मा ओकार) – गोरी (र् मा ईकार)
  • गयो (य् मा ओकार) – गई (ओकार ईकारमा परिवर्तन)

आ. पुलिङ्ग शब्दको अन्त्यमा ‘इका’ प्रत्यय लगाएर स्त्रीलिङ्ग बनाउन सकिने,

गायक – गायिका

सेवक – सेविका

लेखक – लेखिका

शिक्षक – शिक्षिका

बालक – बालिका

उद्घोषक – उद्घोषिका

प्रायः पुलिङ्गी शब्दको अन्त्यमा ‘अक’ भए ‘इका’ बनाई स्त्रिलिङ्गी शब्द बनाउन सकिन्छ। प्रायः पेसामा यो नियम लागु हुन्छ।

  • नायक (य् + अक) –  नायिका (य् + इका)
  • परिचालक (ल् + अक) – परिचालिका (ल् + इका)

इ. पुलिङ्ग शब्दको अन्त्यमा ‘नी’, ‘एनी’, ‘इनी’ प्रत्यय लगाएर स्त्रीलिङ्ग बनाउन सकिने,

नाति – नातिनी

छेत्री – छेत्रिनी

सुब्बा – सुब्बिनी

सुब्बा – सुब्बेनी

लामा – लमिनी

पापी – पापिनी

नेवार – नेवार्नी

साहु – साहुनी

प्रायः थर, जातको पछाडि ‘नी’, ‘इनी’, ‘एनी’ लाग्ने गर्छ।

बाहुन – बाहुनी

तामाङ – तामाङ्नी

थारु – थरुनी

कार्की – कर्किनी

२. कुनै शब्दको अगाडि स्त्रीलिङ्ग बुझाउने शब्द राखेर पुलिङ्गलाई स्त्रीलिङ्ग बनाइन्छ।

राजासाहेब –  रानीसाहेब

भाले सुगा – पोथि सुगा

भाले मयुर – पोथी मयुर

लोग्नेमान्छे – स्वास्नीमान्छे

केटा साथी – केटी साथी

छोरा मान्छे – छोरी मान्छे

३. शब्दको पूरै रुप परिवर्तन गरेर पुलिङ्गी शब्दलाई स्त्रीलिङ्गी शब्द बनाइन्छ।

दाजु – भाउजू

वीर – वीराङ्गना

लोग्ने – स्वास्नी

मत्ता – ढोई

झाँक – मुडुली

राजा – रानी

वर – बधू

बादशाह – बेगम

थप जानकारीः

नेपाली भाषामा नामले जस्तै विशेषण र क्रियाले पनि लिङ्गभेद जनाउँदछ।

विशेषणक्रिया
राम्रो – राम्री

होचो – होची

ठूलो – ठूली

सुन्दर – सुन्दरी

पुड्को – पुड्की

चुच्चो – चुच्ची
पढ्छ –  पढ्छे

पढ्यो – पढी

सुन्छौ – सुन्छ्यौ

भन्छस् - भन्छेस्

भनेको छ – भनेकी छिन्

आएको थियो – आएकी थिई