सर्वनाम


 नामको साटोमा प्रयोग हुने विकारी पद सर्वनाम हो। नामस्थनिक पदलाई सर्वनामको रुपमा चिनिन्छ। सर्वनाम नामको सट्टा नाम पदावलीको सट्टा र सिङ्गो वाक्यको सट्टामा पनि प्रयोग हुन्छ। नाम वा नामपदसमूहको पुनरुक्ति रोक्न सट्टामा आउने शब्दलाई सर्वनाम भन्दछन् ।

नामको साटोमाः बालकृष्ण पढाउनुहुन्छ। उहाँ पढाउनुहुन्छ।

पदावलीको साटोमाः काकाका छोरीहरु आए। उनीहरु आए।

वाक्यको साटोमाः ‘कर्म गर फलको आस नगर।’ यो भागवत गीताको सार हो।

प्रकार
१. पुरुषवाचक सर्वनामः 

पुरुष वा व्यक्तिलाई जनाउने सर्वनाम पुरुषवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित तीन प्रकारका हुन्छन्:

अ) प्रथम पुरुषवाचक- बोल्ने वा लेख्ने व्यक्ति (प्रेषक वा वक्ता) लाई बुझाउने सर्वनाम,

जस्तै- म (एकवचन), हामी (बहुवचन) । (प्रथम पुरुष सर्वनामले आदर छुट्याउँदैन।)

आ) द्वितीय पुरुषवाचक – पढ्ने वा सुन्ने व्यक्ति  ( प्रापक वा श्रोता) लाई बुझाउने सर्वनाम, 

जस्तै- तँ (एकवचनः निम्‍न आदर), 

तिमी,( एकवचनः मध्यम आदर)  तिमीहरू(बहुवचनः मध्यम आदर) 

तपाईँ/हजुर (एकवचनः उच्च आदर) । तपाईँहरू/हजुरहरु (बहुवचनः उच्च आदर)

इ) तृतीय पुरुषवाचक- वक्ता र श्रोता ( प्रेषक र प्रापक) बाहेक अरू कसैलाई बुझाउने सर्वनाम, अर्थात जसको बारेमा बोलिन्छ उसैलाई बुझाउने (विषय) 

जस्तै-ऊ(एकवचन, निम्‍न आदर) 

उनी (एकवचन मध्यम आदर) उनीहरु (बहुवचनः मध्यम आदर )

यो, त्यो,(एकवचन) यी, यीनीहरू, ती, तिनीहरू(बहुवचन) 

वहाँ/उहाँ (एकवचनः उच्च आदर) वहाँहरू/उहाँहरु (बहुवचनः उच्च आदर)

२. दर्शकवाचक सर्वनाम

नजिक वा टाढाका व्यक्ति वा वस्तु तथा धारणालाई तोकेर बताउने सर्वनाम दर्शक सर्वनाम हो । निश्‍चित रुपमा तोकेर बुझाउने भएकाले यसलाई निश्‍चयवाचक सर्वनाम पनि भनिन्छ। यस खालका सर्वनामहरू निम्‍न दुई प्रकारका छन्:

अ) समीपवाचक (निकटवर्ती) –  नजिकको देखाउनेः उपस्थित व्यक्ति वा बस्तुलाई बताउने सर्वनाम, 

जस्तै- सामान्य- यो, यिनीहरू, यी ।

आदरार्थी- यी, यिनीहरू, यहाँ , यहाँहरु।

आ) दूरवाचक (दूरवर्ती ) – टाढाको देखाउनेः अनुपस्थित व्यक्ति वा वस्तुलाई बताउने सर्वनाम, जस्तै-

जस्तै सामान्य- त्यो, तिनीहरू, ती, ऊ, उनीहरू , त्यही, उही।

आदरार्थी- ती, तिनी, उनी, उनीहरु, उहाँ , उहाँहरु।

३. सम्बन्धवाचक सर्वनाम:

वाक्यमा संबन्ध स्थापित गराउने सर्वनाम संबन्धवाचक सर्वनाम हो । वाक्यमा आएका वस्तु, व्यक्ति, समय, स्थान तथा उपवाक्यहरुका बीचमा रहेको पारस्परिक सम्बन्ध देखाउने सर्वनाम सम्बन्धवाचक सर्वनाम हो।  यस खालका सर्वनामहरू निम्‍नलिखित दुई प्रकारका छन्ः

अ) निश्चयवाचक – ज्ञात वा निश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको मात्रालाई बुझाउने सर्वनाम,

जस्तै- जो, जोजो (मानवीय)

जे ,जेजे (अमानवीय)

जुन (दुवै)

आ) अनिश्चयवाचक – अज्ञात वा अनिश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको अवस्थालाई बुझाउने सर्वनाम,

जस्तै-  जोसुकै (मानवीय)

जेसुकै (अमानवीय)

जुनसुकै (दुवै)

४. प्रश्नवाचक सर्वनाम:

कुनै व्यक्ति वा वस्तुका विषयमा प्रश्न व्यक्त गर्ने सर्वनाम प्रश्नवाचक सर्वनाम हो । यस्ता सर्वनामले वाक्यलाई प्रश्‍नार्थक बनाउँछन्। यस खालका सर्वनामहरू निम्लिखित दुई प्रकारका हुन्छन्:

अ) निश्चयवाचक – खास व्यक्ति वा वस्तुबारे प्रश्न व्यक्त गर्ने सर्वनाम,

जस्तै-  को, कोको (मानवीय)

के, केके (अमानवीय)

कुन, कुनकुन (दुवै)

आ) अनिश्चयवाचक – खास व्यक्ति वा वस्तुको बारेमा नभएर अनिश्चित व्यक्ति वा वस्तुबारे प्रश्न गर्ने सर्वनाम,

जस्तै- कोही, कोहीकोही (मानवीय)।

केही, केहीकेही (अमानवीय)

कुनै, कुनैकुनै (दुवै)

५. निजवाचक सर्वनामः

आत्म, स्वयम्लाई बुझाउने, निजत्व बुझाउने र तीन वटै पुरुष पछाडि आउन सक्ने सर्वनाम निजवाचक वा आत्मवाचक सर्वनाम हो।

जस्तैः आफू, आफैँ, स्वयम्।

सर्वनामले वाक्यमा गर्ने कार्यहरु

नामको सन्दर्भ जनाउने काम गर्छ। जस्तैः आमा बगैँचामा जानुभयो। वहाँ अब फूल लिएर आउनुहुन्छ।

कर्ताको कार्य गर्छ। जस्तैः ऊ संगीत सुन्छ। 

कर्मको काम गर्छ। जस्तैः यादवले उनीलाई कराए।

विभिन्‍न कारकको काम गर्छ।

ऊ खेत खन्छ। (कर्ता कारक)

जस्तैः सानी उसलाई बोलाउँछे। (कर्म कारक)

कमलाजी वहाँलाई कपडा उपहार दिनुहुन्छ। (सम्प्रदान कारक)

तिमी त्यहाँबाट आएछौँ। (अपादन)

किताब त्यसमा नराख। (अधिकरण कारक)

वक्ता, श्रोता, विषय र पुरुष पनि चिनाउँछ। 

विशेषणको काम गर्छ। जस्तैः त्यो चरो। यी केटीहरु। यो भाले।

 

फरक रङका पदको पदवर्ग छुट्याउने कोसिस गरौँ।

यो घाँस काट्छ।

यो मान्छे घाँस काट्छ।

त्यो मुसुक्क हाँस्यो।

त्यो केटो मुसुक्क हाँस्यो।

तिमी के भन्दै छ्यौ?

तिमी के कुरा भन्दै छ्यौ?

तपाईँले जे भन्‍नुभयो, त्यो एकदमै ठिक हो।

तिपाईँले जे कुरा भन्‍नुभयो त्यो एकदमै ठिक हो।