लोकतन्त्र (निबन्ध)


    लोकतन्त्र

    लोकतन्त्र शासनको एउटा व्यवस्था हो। लोकतन्त्रको शाब्दिक अर्थ 'मान्छेको शासन' हो । लोकतन्त्र एक यस्तो शासन व्यवस्था हो जसमा जनता द्वारा जनताको लागि जनताको शासन हुन्छ । अथवा जनतालेआफ्नो शासक आफू चुन्छन् । जहाँ हरेक नागरिक स्वतन्त्रताको स्वास फेर्छन्, सम्मानको जिन्दगी जिउँछन् र समानताको अनुभूति गर्छन् । जब अबला, अबोध र निर्दोषहरूको रक्षा गर्न सकिँदैन, तब लोकतन्त्र अर्थहीन हुनपुग्छ ।

    विशेषतः लोकतन्त्र भनेकै जनताको लागि केन्द्रित हुने शासन व्यवस्था र पद्धति भएकाले यसले आफ्नो मार्गमा कहीँ कतै पनि जनतालाई त्यागेर हिंड्न, चल्न, घुम्‍न र सञ्‍चालन हुन सक्दैन । लोकतन्त्रमा जनता अन्यायमा पिसिन हुँदैन, जनताले भेदभाव सहनुपर्दैन। लोकतन्त्रमा जनताले ऑसु पोख्‍नु, रोग, भोक र अशिक्षामा जकडिन सुहाउँदैन । गरिवीको रेखामुनि बस्‍नु, बेरोजगारीले छटपटाउनु लोकतन्त्रको अपमान हो। लोकतन्त्रमा जनतामा भय र त्रासको वातावरणमा रहन हुँदैन ।


    लोकतन्त्र भनेको जनता सर्वोपरी रहने शासन व्यवस्था हो । जनताको मूल्य र मान्यतालाई स्थापित गर्ने र हक, हित र अधिकारहरु सुनिश्‍चित हुने बलियो आधार हो । जनताको पहुँच राज्यको सम्पूर्ण निकायमा समानरुपले रहने र रहन पाउने सिद्धान्त हो । जनताका लागि आवश्यक पर्ने आधारभूत कुराहरु गास, बास, कपास, शिक्षा, स्वास्थ्य तथा रोगजारका कुराहरुलाई स्थापित गर्ने माध्यम हो । जनता अत्यन्त सुखी र सम्पन्न भएको हेर्न, देख्‍न र भोग्‍न चाहने निष्पक्ष, दूरदर्शी र भेदभावरहित दिव्यदृष्टि हो ।