उखान(Proverb)


 

सत्य र परिपक्व ज्ञान वा साझा अनुभवमा आधारित सारगर्भित एवं सूत्रात्मक उक्तिलाई उखान(Proverb) भनिन्छ । नेपाली भाषामा 'उखान' शब्द संस्कृतको 'उपाख्यान' बाट जन्मिएको हो। यो उहिलेदेखि चलिआएको वाक्यस्तरको सूत्रात्मक कथन हो । यसमा लामो अनुभवमा आधारित सूक्तिमय र सारपूर्ण अभिव्यक्ति हुन्छ । उखान लोकप्रिय र उत्प्रेरक भएको हुँदा यसको प्रचलन समाजमा प्राचीन कालदेखि हुँदै आएको हो। उखानका प्रमुख विशेषताहरू निम्नलिखित छन् :

·         उखान सत्यमा आधारित हुन्छ।
·         उखान परिपक्व ज्ञानमा आधारित हुन्छ ।
·         उखान साझा अनुभवमा आधारित हुन्छ ।
·         उखान संक्षिप्त, सूत्रात्मक र सारगर्भित हुन्छ ।
·         उखान सरल, सहज, स्पष्ट र प्रभावकारी हुन्छ ।
·         उखान सार्वकालिक हुन्छ र यो कहिल्यै पुरानो हुँदैन ।
·         उखान सर्वाभौम हुन्छ । यसको प्रयोग सर्वत्र गरिन्छ ।
नेपाली उखानको सूचीः
·         आफ्ना सबै सन्तानलाई समान व्यवहार गर्नुपर्छ, कसैलाई काखा कसैलाई पाखा गर्नुहुँदैन।
·         अरूले तपाई भनोस् नभनोस् आफै मपाई भनेजस्तै मोहनलाल सधैं आफ्नै प्रशंसा मात्र गरेर हिँड्छ ।
·         पहिले सम्पन्न हुँदा दयामानको घरमा कति मान्छे ओइरिन्थे अहिले उसको हालत कमजोर भएकाले कोही पनि उसकहाँ आउँदैनन् । छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भनेको यही त होला नि।
·         जाँगर न साँगर खाने बेलामा आँ गर भनेजस्तो सन्ते कामधाम केही गर्दैन खाने बेलामा चाहिँ टुप्लुक्क आइपुग्छ।
·         कम्प्यूटर चलाउन पटक्कै नजान्ने चंखे इमेल र इन्टरनेटका गफ गरेर हिँड्छ । जुन गोरुको सिङ छैन उसको नाम तिखे भनेको यही त हो।
·         रनेले चोरीको झुटो आरोपमा गोरेलाई फसाएर आफू साधु हुन खोजेको थियो तर उसकी छोरीले बाबुका कर्तुत सबैका अगाडि बताइदिई । आखिर झुटो तग्दैन, साँचो डग्दैन भनेको साँच्चै नै हो रहेछ।
·         ढुङ्गाको भर माटो, माटाको भर ढुङ्गो भनेझै सबै मानिसलाई एकअर्काको सहयोग चाहिन्छ ।
·         देश खाई शेष भएको धनेलाई कुरा गरेर कसैले पनि जित्न सक्दैन ।
·         सधैं साइकल भनेर छोराले पिराउँथ्यो तर साइकल किनिदिएपछि त ऊ चढ्न वास्तै गर्दैन । नपाउन्जेल कस्तो पाएपछि सस्तो भनेको यही हो।
·         अर्काका कुरा सुनेर चामेले गौँथलीलाई घरबाट निकाल्यो । न्याउरी मारी पछतो भनेजस्तै अहिले ऊ पुर्पुरामा हात लाएर बसिरहेछ ।
·         असार महिना भनेको नेपालीहरूका लागि मानु खाएर मुरी उब्जाउने बेला हो।
·         सुन्तलीले ऊनीको कोट खरानीको झोलमा बेसरी माडेर धोइदिइछ, कोट त कामै नलाग्ने भएछ माल पाएर के गर्नु चाल पाए पो हुन्छ।
·         भ्रष्टाचारको विरोधमा चर्का भाषण गर्नेहरू नै आफैं घुस खान्छन् हात्तीको चपाउने दाँत बेग्लै, देखाउने दाँत बेग्लै भनेको यही त हो नि।
माथिका वाक्यमा गाढा कालो गरिएका भाषिक एकाइ उखान हुन् । नेपालीमा उखान प्रशस्तै छन् । नेपालीमा प्रचलित महत्त्वपूर्ण उखानहरूको वर्णानुक्रमिक सूची तल दिइन्छ :
·         अगिपछि अन्त, चैतमा जन्त → उपयुक्त समयमा काम नगरी उल्टोउल्टो काम गर्नु ।
·         अच्छयूँ खाएँ बच्छयूँ खाएँ, झुसे बारुलो →कस्ताकस्ताले केही गर्न सकेनन् यस्ता भारेभुरेले के गर्छन् ?
·         अरूले तपाई भनोस् नभनोस् आफै मपाई →अरूले योग्य नठाने पनि आफै योग्य ठानी बम्कने ।
·         आँटको अगि ढाँटको केही लाग्दैन → हिम्मत गरेपछि जस्तोसुकै काम पनि गर्नसकिन्छ।
·         आगो लागेपछि इनार खन्नु → समय बितेपछि जोहो गर्नुको अर्थ हुँदैन ।
·         आफै बोक्सी, आफै धामी → जता पनि ठिक्क पार्ने काम।
·         आमातिरको मामा न बाबुतिरको काका → कतैतिर पनि साइनो नभएको, कोही न कोही।
·         आयो दसैं ढोल बजाई, गयो दसैं रिन बोकाई → खुसी बोकेर आउने चाडबाडले गरिबलाई रिन बोकाएर जान्छ ।
·         उठी सुख न बसी सुख → केही गर्दा पनि सुख नपाइनु ।
·         उठ जोगी फटकार छाला, जहाँ जाला उही खाला → केही नहुनेलाई जता गएर जे गरे पनि कसैले रोक्दैन ।
·         उम्केको माछो तीन धार्नी, मरेकी छोरी जम्दार्नी → गुमेको वस्तु महत्त्वपूर्ण लाग्छ ।
·         उल्फाको धन फुपको सराद्ध → विना मिहेनत सित्तैमा आएको सम्पति जथाभावी उडाउन् ।
·         ओल्लो घाट न पल्लो तीर → यताको न उताको हुनु ।
·         औँलो दिँदा डुँडुलो निल्ने → एकथोक दिएपछि सबैथोक लिन खोज्ने ।
·         कसैलाई काखा, कसैलाई पाखा → पक्षपातपूर्ण व्यवहार गर्नु ।
·         कागलाई बेल पाक्यो हर्ष न बिस्मात → आफूले लिनखान नसकिने वस्तु पाए पनि नपाए पनि केही मतलब छैन।
·         कागले कान लग्यो भन्दा आफ्नो कान नछामी कागको पछि दगुर्ने → सत्य कुरा नबुझी लहैलहैमा दौडने।
·         काम गर्ने हनुमान् पगरी गुथ्ने ढेडु → काम गर्ने एउटा जस पाउने अर्को ।
·         काममा हीरा फोर्नु, बेकाममा नुनढिकी पनि नफोर्न → काम परेको बेला प्रशस्त खर्च गर्ने, विना काममा अलिकति पनि खर्च नगर्ने ।
·         काम साँचे आफूलाई खान साँचे अरूलाई → काम साँचेर राख्दा आफैंले गर्नुपर्छ तर खानेकुरा साँचेर राखे अर्कैले खाइदिन्छ ।
·         कि ऑटले खान्छ कि ढाँटले खान्छ → हिम्मतिला र ढँटुवाहरूले नै अवसर पाउँछन् ।
·         कुरो र कुलो जता लग्यो उतै जान्छ → कुलोझै कुरालाई जता पनि मोड्न सकिन्छ ।
·         के खोज्छस् काना, आँखो → जसलाई जे खाँचो छ, त्यही पाउनु ।
·         खानेपिउने रामे, चोट पाउने चामे → बिराउने एउटा दोष पाउने अर्को ।
·         खाने बेलामा घिन नसम्झन, सुत्ने बेलामा रिन नसम्झनू → घिन मानेर खाँदा जिउ लाग्दैन, चिन्ता गरेर सुत्दा निन्द्रा लाग्दैन ।
·         खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने → ठूलोभन्दा सानो बढी जान्ने हुन खोज्नु ।
·         घिउ कहाँ पोखियो, भागैमा -→चाहिने चिज ठीक ठाउँमा पर्नु ।
·         घिउ न तेल, पका बुढी सेल → केही पनि नहुँदा मिठो खान खोज्नु ।
·         घुमीफिरी रुम्जाटार → चारैतिर घुमेर पहिलेकै ठाउँमा आइपुग्नु ।
·         घोकन्ती विद्या धावन्ती खेती →विद्या घोक्दा बढ्छ, खेती धाउँदा सप्रन्छ ।
·         चारखुट्टे धन गन्दै नगन → गाईवस्तुको धन त्यति महत्त्वपूर्ण हुँदैन ।
·         छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी → सम्पत्ति हुन्जेल सबै आफ्ना, नभए सबै बिराना।
·         छाता ओढ्नु घाममा, हीरा फोर्नु काममा -→ वस्तुको उपयोग समयअनुसार गर्नु ।
·         जता मल्खु उतै ढल्खु → स्वार्थअनुसार जता पनि लाग्नु ।
·         जसको जौ खानु उसकै जुँगा उखेल्नु -→ आफूलाई सहयोग गर्ने मानिसलाई नै दुःख दिनु ।
·         जाँगर न साँगर, खाने बेलामा आँगर → काम नगरी खान मात्र खोज्ने ।
·         जात फाल्नु गहतको झोलमा → सारै सानो कुरामा इज्जत फाल्न ।
·         जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड → नबुझ्नेका लागि अमूल्य वस्तु पनि मूल्यहीन हुन्छ।
·         जुन गोरुको सिङ छैन उसको नाम तिखे → योग्यता नभएकाले योग्य ठान्नु, नाम र काम नमिल्नु ।
·         जोगीका घरमा सन्यासी पाहुना → केही नहुनेकहाँ अर्को नहुने आउनु।
·         झिंगाको सरापले डिंगा मर्दैन → अरूले ईर्ष्या गर्दैमा शक्तिशालीलाई हानि हुँदैन ।
·         झुटो तग्दैन, साँचो डग्दैन → झुटो टिक्दैन, साँचो टिक्छ ।
·         टेक्ने हाँगो न समाउने डालो → कतै केही आधार नभएको।
·          ठला माछाले सानो माछा खान्छ → ठूलो वा शक्तिशालीले सानो वा निर्धालाई हेप्छ ।
·         ठूला रूखको ओत लागे एक भर पानी ओत्छ → आधार गतिलो भए थोरै भए पनि दुख हट्न सक्छ।
·         ढाँटेको कुरा काटे मिल्दैन → झुटो तुरुन्तै थाहा हुन्छ ।
·         ढुङ्गाको भर माटो, माटाको भर ढुङ्गो → सबैलाई एकअर्काको सहयोग चाहिन्छ ।
·          ढुङ्गो खोज्दा देउता मिल्नु → सामान्य खोज्दा विशिष्ट फेला पर्नु ।
·         तातै खाऊँ जली मरूँ → ज्यादै हतार गर्नु ।
·         ताप्के तात्नु कहाँ छ कहाँ बिँड तात्ने →मूल व्यक्तिलाई भन्दा अरूलाई हतार लाग्नु ।
·         तिताको पातै नछुनु, मिठाको जरै नछोड्नु → मिठो मात्र खान खोज्नु ।
·          तें रानी मै रानी को भला कुवाको पानी → सबै ठालु भएपछि काम गर्ने कोही हुँदैन ।
·          दुख पाइस् मङ्गले आफ्नै ढङ्गले → आफ्नै कारणले दुख पाउनु।
·         देश खाई शेष भएको → धेरैतिर घुमेर अनुभव बटुलेको।
·         धान खाने मुसो चोट पाउने भ्यागुतो → गल्ती गर्ने एउटा सजाय पाउने अर्को ।
·         नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार → लिनु न छोड्नु ।
·         नजाने गाउँको बाटै नसोध्नू → नचाहिएका कुरामा वास्ता नगर्ने ।
·         नजिकको तीर्थ हेला -→ सजिलै पाइने वस्तुको महत्त्व कम हुनु ।  
·         नदिने बज्यै बुधबार बार्छिन् → दिन नचाहनेले निहुँ बनाएर टार्नु ।
·         नपाउन्जेल कस्तो पाएपछि सस्तो -→ नहुँदा महत्त्व हुने, हुँदा वास्ता नहुने ।
·         नमच्चिने पिङको सय झड्का -→ अयोग्यले बढी फुर्ती देखाउँछ ।
·         नहुनु मामाभन्दा कानो मामा निको → हुँदै नहुनुभन्दा नरानै वा थोरै भए पनि हुनु राम्रो ।
·         नाच्न नजान्ने आँगन टेढो -→ ढङ्ग नहुनेले अर्कालाई दोष दिन्छ ।
·          न्याउरी मारी पछुतो → विचार नगरी हतारिएर काम गर्दा पछुताउनुपर्छ ।
·         पाडो खानेले बाछो बाँकी राख्दैन → एउटालाई बिगार गर्नेले अर्कोलाई बाँकी राख्दैन।  
·         पानीमा बसी गोहीसँग वैरभाव -→ सँगै बसेर शक्तिशालीसँग शत्रुता गर्नु ।  
·         पोहोर मरिन् सास, अहिले आयो आँसु → पहिले वास्ता नगर्ने पछि पछुताउने ।
·         फाली मासी सियो → ठूलो वस्तु बिगारेर सानो वस्तु बनाउनु।  
·         बलियाबागा बाघलाई, बुढाखाडा माघलाई → बलियालाई झन् बलियाले मात्र ठेगान लाउँछ, तर निर्धा वा बुढालाई जाडाले नै सिद्ध्याउँछ ।  
·         बाँदरको पुच्छर लौरो न हतियार → कतै पनि काम नलाग्ने वस्तु ।
·         बाघको छालामा स्यालको दाइँ → अर्काको सम्पत्तिमा मोज गर्ने ।   
·         बाघले खाए पनि किलो रित्तै, भिरबाट लडे पनि किलो रित्तै → जसरी पनि नोक्सान हुनु ।  
·         बार वर्षपछि खोलो त फर्कन्छ → कुनै न कुनै बेला मौका अवश्य आउँछ ।
·          बिग्रेका मान्छेको भत्केको घर, भत्केपछि केको डर → सबथोक बिग्रेपछि केको चिन्ता ? 
·         बिहा नभए पनि जन्ती त गएको छु → पूरै नजाने पनि केही जानेको हुनु ।
·          बोकाले दाई हुने भए गोरु केलाई चाहियो →खास कामका लागि खास वस्तु चाहिन्छ।  
·         बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन → आफ्नो हकहितका लागि बोल्नुपर्छ, चुप लागेर काम बन्दैन।  
·         भताभुङ्गे देशको लथालिङ्गे चाला → ठीक व्यवस्था नभएका देशको अवस्था राम्रो हुँदैन।
·         भालुको मन खनिउँमाथि → जहिले पनि एउटै कुरामा केन्द्रित हुने ।
·         भिरबाट लडेको गाईलाई रामराम पो भन्न सकिन्छ, काँध थाप्न त सकिन्न नि ? → बिग्रन लागेकोलाई सहानुभूति प्रकट गर्न सकिन्छ, तर पूरै जिम्मेवारी लिएर रोक्न सकिन्न।
·         भुसुनाले हात्तीलाई रुवाउँछ -→ सानो भनेर हेप्नु हुँदैन ।
·          मनको लड्डु घिउसित खानु → कल्पनामा रमाउनु ।  
·         मरेपछि डुमै राजा → आफै नरहेपछि जेसुकै होस् ।  
·         मर्नुभन्दा बौलाउनु निको → धेरै कष्ट सहनुभन्दा थोरै कष्ट सहनु बेस ।  
·         मानु खाएर मुरी उब्जाउने बेला → असारको धमाधम ।  
·         माल पाएर के गर्नु, चाल पाए पो हुन्छ → वस्तुको महत्त्व थाहा नपाउनु ।  
·         मौकामा हीरा पनि फोर्नुपर्छ → परेका बेला खर्च गर्न पछि हट्नु हुँदैन ।  
·         लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ → सोझो मान्छेले भन्दा छटु मान्छेले धेरै दुख पाउँछ।  
·         वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ → बाहिरी वस्तुले केही नगरे पनि मनको चिन्ताले हानि पुयाउँछ ।  
·         सराद्ध गर्नभन्दा सिधा पुयाउन गारो → मूल कामभन्दा अन्य काम कठिन हुन्छ ।  
·         सर्प पनि मरोस्, लट्ठी पनि नभाँचियोस् → हानिनोक्सानी विना काम बन्नु।
·           सूर्यलाई हत्केलाले छेकेर छेकिंदैन → ठूलो कुरालाई सानो कुराले ओझेलमा पार्न सक्तैन ।
·          सोझो औलाले घिउ आउँदैन → सोझो भएर सधैं काम बन्दैन ।  
·         स्यालको सिकारमा जाँदा बाघको सर्जाम लिनुपर्छ → सानो काम गर्दा पनि पूरै तयारी गर्नुपर्छ ।  
·         हतपतको काम लतपत → हड्बडाएर गरेको काम राम्रो हुँदैन ।  
·         हात्ती आयो, हात्ती आयो फुस्सा -→ हल्ला मात्र हुनु कामचाहिँ नहुनु ।  
·         हात्तीको चपाउने दाँत बेग्लै, देखाउने दाँत बेग्लै → बोली र व्यवहार फरक हुनु ।
·         हिङ नभए पनि हिङ बाँधेको टालो त छ → पुरानो रबाफ बाँकी रहनु ।
·         हुटिटयाउँले आकाश थाम्दैन → क्षमताभन्दा बाहिरको काम ।
·         हुने बेलामा गोरु पनि ब्याउँछ → नपत्याउने किसिमले फाइदा हुनु ।