मनोवाद र यसको शैली


कुनै व्यक्ति विशेषले खास विषयमा आफैँमा एक्लै गरेको कुराकानीलाई मनोवाद भनिन्छ । यसलाई एकलाप वा स्वगतकथन पनि भनिन्छ । यो एक किसिमको रुपकीय अभिव्यक्ति हो । यसमा एकजना मात्र पात्र हुने भएकाले संवाद झैँ दोहोरो कुराकानी हुँदैन । यसमा एक्लो पात्रका मनका कुरा (स्मृति, कल्पना, पश्चाताप, द्विविधा, खुलदुली, सङ्कल्प आदि) को अभिव्यक्ति हुन्छ। मनोवाद लेख्दा सामान्यतया निम्नलिखित कुराहरुमा ध्यान दिनुपर्छ:
१. सबैभन्दा पहिले शीर्षक दिनुपर्दछ।
२. शीर्षक उल्लेख गरिसकेपछि त्यसैको केही तल स्थान, समय र पात्रको जानकारी दिनुपर्दछ।
३. एकलाप प्रस्तुत गर्नुभन्दा पहिले सम्बन्धित विषयको पृष्ठभूमि घटना र पात्रको परिवेशको बारेमा कोष्ठकमा जानकारी दिनु राम्रो हुन्छ।
४. मनोवादात्मक अभिव्यक्तिको आरम्भमा पात्रको नाम उल्लेख गरी कोष्ठकमा 'मनमनै' लेखी उसका मानसिक कथनलाई प्रस्तुत गर्नुपर्दछ।
५. विषय  र प्रस्तुतिअनुरुप कुनै एक वा तीनै काल (भूत, वर्तमान र भविष्यत) का क्रियापदको मिश्रित प्रयोग पनि यसमा गर्न सकिन्छ।
६. नाटकीय एकल अभिव्यक्ति भएकाले यसको शैली प्रथम पुरूषप्रधान हुनुपर्छ।
७. एकोहोरो अभिव्यक्ति दिक्कलाग्दो नबनोस् भनेर बीचबीचमा पात्रका मनोभावका उतारचढावलाई हाउभाउका रुपमा कोष्ठकमा उल्लेख गर्नुपर्छ।