भावविस्तार वा व्याख्या, सप्रसङ्ग व्याख्या र विवेचना यी प्रश्नहरुमा विद्यार्थीमा कसरी उत्तर लेख्ने भन्ने समस्या रहेको पाइन्छ । आज म यस सम्बन्धमा सकेसम्म समाधान गर्ने प्रयास गर्नेछु ।
भावविस्तार वा व्याख्या, सप्रसङ्ग व्याख्या र विवेचना भन्नेवित्तिकै हामीले दिइएको प्रश्नको मूल मर्म, भाव वा अर्थ लेख्नुपर्ने भन्ने बुझ्नुपर्ने हुन्छ । मानौँ कसैले “मेरो रेडियोले हावा खायो।” भन्यो भने यसको मूल मर्म के त ? पक्कैपनि रेडियोले हावा निलेको भन्ने त होइन। यहाँ व्यङ्ग्य रुपमा ‘रेडियो विग्रियो’ भनिएको हो । यसरी सोधिएको प्रश्न(भनाइ, वाक्य, कवितांश आदि)ले भन्न खोजेको भित्री मर्म/अर्थ बुझेर लेख्नु पर्दछ । परीक्षामा विद्यार्थीले उत्तर लेख्नुपूर्व प्रश्नको प्रकृति( भावविस्तार वा व्याख्या, सप्रसङ्ग व्याख्या र विवेचना) बुझ्न जरुरी छ । अब बुझौँ यी तीन प्रकारका प्रश्नमा उत्तर लेख्ने तरिकामा अन्तरः
भावविस्तार वा व्याख्याः
‘भावविस्तार वा व्याख्या’ शब्द आफैमा अर्थ छ । यदि ‘भावविस्तार वा व्याख्या’ गर्न प्रश्न आएमा हामीले त्यसको मर्मतिर मात्र ध्यान दिनु पर्दछ । यसमा प्रसङ्ग जोडिरहनु पर्दैन । सोझै प्रश्नको भाव लेख्नु पर्दछ । यसलाई दुई अनुच्छेदमा लेख्नुपर्छ । पहिलो अनुच्छेदमा प्रश्नको मुख्य भाव/अर्थ/मर्म लेख्नुपर्छ र दोस्रो अनुच्छेदमा लेखिएका कुराको निष्कर्ष वा सार लेख्नुपर्छ ।
सप्रसङ्ग व्याख्या र विवेचनाः
स+प्रसङ्ग यानिकि प्रसङ्ग सहित । प्रसङ्गभित्र (सङ्केत, प्रसङ्ग, सन्दर्भ(पाठ, कविको नाम, कविका केही विशेषता, पाठको मूल मर्म, प्रश्नमा दिइएको कुरा कुन सन्दर्भमा आएको हो? इत्यादि)) पर्दछन् ।
तसर्थ सप्रसङ्ग व्याख्या गर्दा तीन अनुच्छेदमा लेख्नुपर्छ ।
पहिलो अनुच्छेदः प्रसङ्ग (सङ्केत, प्रसङ्ग, सन्दर्भ(पाठ, कविको नाम, कविका केही विशेषता, पाठको मूल मर्म, प्रश्नमा दिइएको कुरा कुन सन्दर्भमा आएको हो? इत्यादि)) लेख्नुपर्छ ।
दोस्रो अनुच्छेदः व्याख्या/विश्लेषण
· दिइएको उद्धरणको परिचय, अर्थ, परिभाषा लेख्नुपर्छ ।
· मूल मर्मलाई व्याख्या विवरणका सहायताले लेख्नुपर्छ ।
· वर्णन गर्दा उखान, प्रतीक आदिको सहयोग लिनुपर्छ ।
· व्याख्या/विश्लेषण गर्दा प्रश्नबाट विमुख हुनु (बहकिनु) हुदैन ।
तेस्रो अनुच्छेद्यः निष्कर्ष/निचोड (प्रश्नको मूल मर्मको सार(खास कुरा) यसमा लेख्नुपर्छ । निचोड लेख्दा अर्थपूर्ण दर्भिलो निचोड दिनुपर्छ । विवेचना गर्दा भने समग्र पाठलाई समेट्न सकिन्छ ।
(सप्रसङ्ग व्याख्यामा जस्तै विवेचनात्मक उत्तर लेख्दा पनि प्रसङ्ग लेख्नुपर्दछ । तर सप्रसङ्ग व्याख्यामा भन्दा विवेचना गर्दा व्याख्या/विश्लेषण विस्तृत रुपमा लेख्नुपर्छ । प्रश्नको विभिन्न कोण वा पक्षबाट व्याख्या विश्लेषण गर्नुपर्छ । विवेचना गर्दा कम्तिमा तीन अनुच्छेद र बढिमा पाँच अनुच्छेदमा लेख्नुपर्छ ।
धन्यवाद