नेपाल भ्रमण वर्ष २०२०
'अटन' आधार पदमा 'परि' उपसर्ग लागेर बनेको पर्यटन शब्दको अर्थ हुन्छ भ्रमण वा यात्रा। पर्यटनबाट धेरै फाइदाहरू हुन सक्छन्। नेपाल जस्तो प्राकृतिक सौन्दर्य भएको देशमा त झन पर्यटन राम्रो आर्थिक स्रोत बन्न सक्छ। यही फाइदालाई ध्यानमा राखी नेपाल सरकारले २९ साउन २०७४ मा ‘लाइफटाइम एक्सपेरियन्स (जीवनकाल अनुभव)’ को नाराका साथ ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।
सन् १९५० मा मौरिस हर्जोग र लुइस लाचेनलले संसारमै पहिलोपटक ८००० मिटरभन्दा अग्लो अन्नपूर्ण हिमाल (८०९१ मि.) आरोहण गरेपछि नेपालमा हिमालमा आधारित पर्यटन शुरू भएको थियो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि पर्यटक झनै लोभिए । हाल हवाईमार्ग र स्थलमार्गबाट वार्षिक करिब १२ लाख पर्यटक आइरहेका छन्। स्थायी शान्तिसँगै देशमा पर्यटक आगमन बढ्दो छ।
सरकारले एक वर्षअघि १०० स्थानलाई पर्यटकीय गन्तव्य घोषणा गरेको छ।
नेपाल घुम्न आउनेमा सबैभन्दा बढी भारतीय र त्यसपछि चिनियाँ भएकोले पर्यटक खोज्न टाढा जानु पर्दैन। नेपालमा पर्यटनका अथाह सम्भावनाहरु छन् । प्राकृतिक नदीनाला, हिमाल, वनजङ्गल, पहाडका अलावा सांस्कृतिक धरोहर र सम्पदा, र्याफ्टिङ र फिसिङ, मुस्ताङ, मार्फा र कालीगण्डकीले वास्तवमै पर्यटन प्रबर्द्धनको विस्तार गर्नसक्छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा धार्मिक र सांस्कृतिक पर्यटनको अथाह सम्भावना रहेका छन्। नेपाल घुम्न आउने अधिकांश पर्यटकको गन्तव्य पोखरा, चितवन, लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज हुन्छ । उनीहरुकका लागि नेपाली संस्कृति, चाडपर्व हाम्रा ‘ब्राण्ड’ बन्न सक्छन् । विविध संस्कृति भएको हुनाले १२ महिना नै नेपालमा केही न केही चाडपर्व परेकै हुन्छ । पर्वलाई पर्यटक तान्ने ब्राण्ड बनाउन सकिन्छ।
पर्यटकहरु भनेको घुमन्ते हुन् । उनीहरु सजिलो र मन परेको ठाउँमा यात्रा गर्छन् । प्रकृतिको काखमा रमाउन चाहनेहरुलाई आकर्षित गर्न पनि प्रचारमा त ध्यान दिनैपर्छ । हामीले आफूसँग भएको स्रोत र साधनलाई परिचालन गर्नुपर्छ । कमजोर पूर्वाधार, सेवासुविधा र प्रवद्र्धनले लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्न। विदेशी पर्यटक नेपाल किन आउने र के हो लाइफटाइम एक्सपिरियन्स नेपाल? भन्ने बुझाउन सक्नुपर्छ। हामीले नेपालको पर्यटनको आधारस्तम्भ नै मानिएको सगरमाथाको सरसफाइमा पनि जोड दिनुपर्छ। पदयात्राका लागि कञ्चनजंघा, मनास्लु, डोल्पा जाने पर्यटकको संख्या बढाउनुपर्छ। भैरहवाको गौतमबुद्ध विमानस्थल सञ्चालन गर्नुपर्छ। २४ सै घण्टा विमानस्थल खुला गर्ने र रात्रि उडानलाई प्राथमिकता दिनुपर्छ। नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधासेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्नुपर्छ। पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारदेखि पर्यटकमैत्री वातावरण र असल संस्कारको विकास गर्नुपर्छ। नेपाल भ्रमणबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा व्यापक प्रचारप्रसार गर्नुपर्छ। यसरी नेपाल पर्यटन वर्ष २०२० सफल पार्न सकिन्छ।
