दैनिकी' व्यक्तिले गरेको काम र अनुभवको सिलसिलाबद्ध विवरण हो । यसमा व्यक्तिका द:खसुख, पश्चाताप, निर्णय र अठोटहरू संकलित हुन्छन् । यो व्यक्तिको निजी अभिलेख र इतिहास दुवै हो । यो मानिसको दैनिक क्रियाकलापको विवरण भएकाले सामान्यतया राति सुत्ने बेलामा लेख्ने गरिन्छ । यसबाट विगतका दुर्घटनाबाट जोगिएर भविष्यमा अगाडि बढ्न निकै सहयोग पुग्दछन् । दैनिकी लेख्दा सामान्यतया निम्नलिखित कुराहरूमा ध्यान दिनु उपयुक्त हुन्छ :
(क) दैनिकी लेख्दा सबैभन्दा पहिले बायाँपट्टि दैनिकी लेख्ने दिनको मिति लेख्नुपर्छ । स्मरण रहोस् मिति लेख्दा साल, महिना, गते, बार र आवश्यक परे समय क्रमश: लेख्नुपर्छ।
(ख) मितिभन्दा तल आफले दिनभरि गरेका काम वा अनुभवलाई सिलसिला मिलाएर विभिन्न अनुच्छेदमा विवरण वा वृत्तान्त लेख्नुपर्छ ।
(ग) यो निजी अनुभव र क्रियाकलापको प्रस्तुति हुने विधा भएकाले यसमा प्रथम पुरुष शैली र भूतकालिक क्रियापदहरूको प्रयोग गर्नुपर्छ।
(घ)विशेष दिन वा उल्लेखनीय घटना भएका दिन सोही दिनको सन्दर्भमा केन्द्रित । भएर दैनिकी लेख्नुपर्छ ।
(ङ) उल्लेखनीय घटना वा क्रियाकलाप नभएका दिन विवरण नलेखी सो दिनको मितिमात्र लेख्ने चलन पनि छ।
(च) कुनै निर्धारित विषयमा दैनिकी लेख्नुपरेमा सो दिनको मिति र त्यस दिन हुनसक्ने क्रियाकलापको संस्मरणात्मक टिपोट वा काल्पनिक रूपरेखा तयार पारी त्यसको सिलसिला मिलाउनुपर्दछ ।